अत्तरिया - हिन्दु नेपालीहरुको महान चार्ड बडा दशैको नवौ दिन आज महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने आजको दिन दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।
यस बर्ष भने कोरोना कहरका कारण अधिकंश मन्दिरहरु बन्द रहेका छन् भने बली चढाउनमा रोक समेत लगाइएको छ । कोरोना संक्रमण बढ्दै गएका बेला बढी भिडभाड हुन सक्ने भन्दै रोक लगाइएको हो । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।