कञ्चनपुर- महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ। पशुपक्षी निर्देशनालय र नगरपालिकाको ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो। बधशालामा ५० खसी, बोका र पाँच सय कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ।
बधशालाका लागि निर्माण गरिएको भवनमा पशु बध गर्ने, बर्निङ गर्ने उपकरणसँगै, सफाइ गर्ने मेसिन, क्रेन, जेनेरेटरलगायत उपकरण जडान गरिएका छन्। यस्तै, कुखुरा र खसी÷बोकालाई अलग–अलग बध गर्न सकिने व्यवस्था गरिएको छ।
बधशाला सञ्चालनका लागि भीमदत्त नगरपालिकाले कञ्चनपुर मण्डी व्यवसायी संघसँग सम्झौता गरेको छ। ‘मासुको कारोवारलाई व्यवस्थित बनाउनका लागि बधशाला सञ्चालन गरेको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए। उनले नगरवासीलाई स्वच्छ, ताजा मासुको आपूर्तिमा जोड दिनका लागि काम अगाडि बढाइएको बताए।
दुई दशकअघि बधशाला निर्माणका लागि भवन निर्माण गरिएको भएपनि सञ्चालनमा भने आउन सकेको थिएन। पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार बधशाला सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए।
बधशाला निर्माण भएपछि अव्यवस्थित रूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्ष तर्कराज भट्टको भनाई छ। ‘तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो,’ उनले भने, ‘पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेर मासुको कारोवारसमेत व्यवस्थित भएको छ।’ (रासस)