अत्तरिया - सुदुरपश्चिम समाज दक्षिण कोरियाले सुदूरपश्चिम बिकट पहाडी जिल्ला बझाङको केदारस्युँ गाउँ पालिका ८ मल्लेसीका बाढी पहिरो पीडितलाई १ लाख नेपाली सहयोग गरेको छ । समाजका महासचिव ओम साउदका अनुसार बाढी पीडित विपद् व्यवस्थापन समिति केदारस्युँ ८ मल्लेसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बझाङको खातामा १ लाख जम्मा गरी सहयोग गरेको हो ।
गत असार महिनाको २० गते शनिबार बिहान २ बजेतिर केदारस्युँ गाउपालिकाको मल्लेसीमा भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । उक्त पहिरोबाट सो स्थानमा रहेका २० परिवार घरविहीन भएका छन् र उक्त बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने चुनौती छ । समाजले उक्त पहिरोको दुःखद् खबर सार्वजनिक भए लगत्तै विज्ञप्ति प्रकाशित गरेर समाजका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।
त्यस लगत्तै बाजुराको स्वास्थ्य पूर्वाधार विकास एवं बझाङका पहिरो पीडितलाई सहयोग गर्न अध्यक्ष बीर पाल , सल्लाहकारहरू कमल शाही, लाल साउद र यज्ञराज जोशी को समन्वयमा संयुक्त अभियान संचालन गरेकोमा ५० जना सहयोगीहरूबाट १३,३०,००० वन सहयोग प्राप्त भएको थियो ।
समाजले आफ्नो कोषबाट सो रकममा थप गरी बाजुरामा २० सेट अस्पताल बेड सहयोग गर्न थप १ लाख र बझाङका पहिरो पीडितलाई १ लाख गरी २ लाख नेपाली बराबरको सहयोग यसै अभियानबाट गरेको छ । बाजुराको बुढीगङगा नगरपालिकामा अस्पताल बेड १० सेट गत साउनमै हस्तान्तरण गरिसकिएका छन् भने बाजुराको स्वामी कार्तिक खापर गाउपालिकामा पनि १० सेट अस्पताल बेड दिने कार्यक्रम रहेको छ ।
समाजले सुदूरपश्चिका लागि निरन्तर रुपमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ । केहीदिन अघि मात्र अछाम रामारोशनका बाढी पीडितलाई समेत समाजले सहयोग गरेको थियो । कोरियामा रहेका सुदूरपश्चिमेलीहरूको बीचमा आपसी सद्भाव एवम् एकता अभिवृद्धि गरी संस्थागत रूपमा नेपाली समुदायको हित र भलाईका लागि विशुद्ध समाजसेवाको भावले स्थापित एक सामाजिक संस्थाको रुपमा सुदुरपश्चिम समाज, कोरियाको स्थापना भएको हो ।
सुदूरपश्चिम समाजका मूलभूत उद्देश्यहरूमा विभिन्न उद्देश्यले कोरियामा कार्यरत सुदूरपश्चिमेली नेपालीहरूको बीचमा आपसी सद्भाव र एकताको भावना जागृतगर्ने, आपतविपतका बेला परस्परमा सहयोग गर्ने, बाढी,पहिरो,भूकम्प जस्ता प्राकृतिक प्रकोपमा मातृभूमिका निम्ति सहयोग गर्ने,मौलिक भाषा, कला, साहित्य संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने र सकारात्मक सोचको विकास गरी सक्दो रूपमा सामाजिक तथा मानवीय सेवा सहयोगका कार्य गर्ने रहेका छन् ।
यसै बीच केदारस्युँ गाउँपालिका प्रमुख ईन्द्र भण्डारीले पहिरो पीडितलाई सहयोग गरेकोमा सुदूरपश्चिम समाज,कोरियालाई धन्यवाद दिनुभएको छ भने समाजका अध्यक्ष बीरबहादुर पालले समेत सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद दिएका छन् ।