अत्तरिया – बुधबार लकडाउनमा कैलालीको गोदावरी नगरपालिका ८ शान्तीटोलको एक परिवार खाद्यान्न अभाव हुँदा जंगलको गिठा खाएर छाक टारिरहेको छ भन्ने एउटा भिडियो भाईरल भयो । लकडाउनमा स्थानिय तहले राहत वितरण गरिरहेको भएपनि उक्त परिवारले भने राहत नपाउँदा भोकभोकै बस्नु परेको र जंगलको गिठा खाएर बाचिरहेको छ भन्ने कुरा भिडियोमा भनिएको थियो । भिडियोमा मोहन बहादुर बुढामगरले ज्यालामजदुरी गर्ने गरेको भएपनि लकडाउनले काम गर्न नपाउँदा घरमा खाद्यान्न नभएको बताएका थिए । स्थानिय केहि युवाहरुले तयार पारेको सो भिडियोमा उनले पटक–पटक राहतका लागि नाम मात्रै टिप्ने गरेको तर राहत भने नदिने गरेको गुनासो गरेका थिए ।
‘खानलाई घरमा केहि नभएपछि अहिले जंगलबार गिठा जम्मा गरेर ल्याएर खाँने गरेका छौ । राहतका लागि पटक पटक नाम मात्रै लेखाए तर अहिले सम्म कतैबाट पनि राहत पाईएन् ।’ उनले भिडियोमा भनेका छन ‘घरमा १२ जना छौ, छोराहरु भारतमा काम गर्ने गरेका छन । लकडाउनले छोराहरु उतै छन, आफूयता काम गर्न मिलेको छैन । खानेकुरा नहुँदा जंगलबाट गिठा संकलन गरेर ल्याउँन्छौ, त्यो एक चोटी बनायो भने साँझ बिहानलाई चल्छ ।’
भिडियो अपलोड भएको २ घण्टामै राहत
भिडियोमा निकै कारुणिक दृष्य थियो । भिडियोमा स्वयम बुढामगरले डेढ महिना देखि घरमा खाने कुरा नभएर जंगलमा गिठा खोजेर ल्याउने र त्यहि साँझ बिहान खाने गरेको बताएका थिए । यो भिडियो केहि समयमै भाईरल नै बन्यो । यो भिडियो सोहि ठाउँका युवाहरुले बनाएर सामाजिक संजाल फेसबुकमा हालेका थिए । भिडियो गोदावरी नगरपालिकाका स्थानिय तहका जनप्रतिनिधि सम्म पनि तुरुन्तै पुग्यो । गोदावरी नगरपालिकाका नगरप्रमुखले पनि यो भिडियो देखेपछि उनले तुरुन्त सम्बन्धित वडाका वडाअध्यक्षलाई फोन गरे । भिडियो अपलोड भएको २ घण्टा भित्रै वडाको टोलि बुढामगरको घरमा पुग्यो ।
भिडियो अपलोड गर्ने मद्ये एक गोदावरी नगरपालिका ८ का तिलक राज जोशीले हुने खानेले मात्रै राहत पाएको तर समस्यामा परेकाले राहत नपाउने गरेकाले भिडियो बनाएरै नगरपालिकालाई वास्तवितका देखाएको बताएका छन । गोदावरी न्युज संग कुरा गर्दै उनले आफूहरुको प्रयासले गिठा खाएर जिवन यापन गरेको परिवारले २ घण्टा भित्रैमै राहत पाएकोले निकै खुशि लागेको बताए ।
भिडियोमा बढाई चढाई गरेको वडाअध्यक्षको दावी
गोदावरी नगरपालिकाले उनको भिडियो हेर्ने बितिकै एक्सन लिएको भएपनि भिडियोमा भने पुरै सत्यता नभएको जनाएको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारीले उनको परिवारमा भिडियोमा भनिएजस्तो खाद्यान्नको समस्या नभएको बताए । उनले बुढामगरको परिवार संग जग्गा जमिन पनि भएको दावी गरे । उनले डेढ महिना देखि गिठा खाएको कुरामा सत्यता नभएको बताए ।
‘गिठा तरुल जस्तै हो जंगलबार लिएर सबैले खाने गर्छन । सोहि दिन उनले पनि गिठा पकाईरहेका रहेछन । त्यसै समयमा कस्ले भिडियो बनाएर गिठा खाएर बाचिरहेका छन भनेछन ।’ उनले भने ‘उनले अहिले प्रबिधिको जमानामा सबैको हातहातमा मोबाईल छ । भिडियो बनाएर हाल्छन ।’ उनले वडाबाट पहिलो चरणको राहत उनले नपाएको भएपनि दोस्रो चरणको राहत भने दिएको बताए । भिडियो बनाएपछि राहत पाए भन्ने कुरा गतल हो, हामीले त्यो दिन उनको परिवारलाई राहत दिने भनेर उनको टोलमा पुगेकै थियौ ।’ वडा अध्यक्ष अधिकारीले भने । उनले वडामा सर्वदलिय समिति बनाएर समस्यामा परेका सबै परिवारलाई राहत वितरण गरिरहेको र कसैलाई पक्षपात नगरेको बताए ।