नेपाली कांग्रेसका २५ जना नेताहरूले पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित दुवै पक्षका कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि निर्णायक वार्ता गर्न आग्रह गरेका छन्।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसको नाममा १५औँ महाधिवेशन दुई फरक मितिमा हुने अवस्था बनेको छ।
यही परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसका २५ नेताले दुवै पक्षबाट जारी महाधिवेशन कार्यतालिका स्थगित गरी तत्काल निर्णायक वार्ता सुरु गर्न पार्टी सभापति गगनकुमार थापासमक्ष अपिल गरेका हुन्।
निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार पार्टीभित्रको विवाद समाधान गर्दै सम्पूर्ण एकताका लागि निर्णायक वार्ताको वातावरण बनाउन अपिल गरिएको हो।
अपिलमा भनिएको छ, ‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौँ।’
अपिलमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार विक, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, इन्द्रबहादुर बानियाँ र अनिल रूंगटालगायत नेताहरूले हस्ताक्षर गरेका छन्।