भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५६ शव फेला परेका छन् भने ४ हजार ७७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रका अनुसार सोमबार बिहान १०ः४५ बजेसम्म फेला परेका शवमध्ये ५३० पुरुष, ३२९ महिला तथा ४९७ आंशिक शव तथा अङ्ग रहेका छन्।
हालसम्म १ हजार ३४८ शवको मुचुल्का गरिएको छ भने ९८ शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ।
४ हजारभन्दा बढी बेपत्ता
प्रहरीका अनुसार बाढीपछि हालसम्म ४ हजार ७७ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये ३ हजार ४७९ नेपाली नागरिक रहेका छन्।
नेपाली नागरिकतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला गरी ५९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
९ हजारभन्दा बढीको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार १५९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ३२४ पुरुष, २ हजार ७८१ महिला र ५४ जना पहिचान नखुलेका व्यक्ति रहेका छन्।
प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित नागरिकको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन, फरेन्सिक परीक्षण तथा अभिलेखीकरणको काम भइरहेको प्रहरीले जनाएको छ।
घाइतेको उपचार तथा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्पताल र सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
ड्रोनसहित खोज तथा उद्धार टोली परिचालन
प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा थप जनशक्ति परिचालन गरेको छ।
राहत वितरण, विस्थापितको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा विपद्पछि हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत प्रहरी सक्रिय रहेको छ।
प्रभावित क्षेत्रमा ड्रोन तथा तालिमप्राप्त खोज तथा उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। विपद्सम्बन्धी तथ्यांक संकलन, समन्वय तथा सूचना प्रवाहका लागि विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र २४सै घण्टा सञ्चालनमा रहेको छ।
७ हजार ९१२ प्रहरी परिचालन
बाढीपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले विपद् प्रभावित नागरिकलाई संयमित रहन, आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा उद्धार र राहत कार्यमा सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गरेको छ।