सुदूरपश्चिम प्रदेशका स्थानीय तहका समस्या समाधान तथा प्रदेश–स्थानीय सरकारबीचको समन्वय प्रभावकारी बनाउन नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले मुख्यमन्त्री खगराज भट्टको ध्यानाकर्षण गराएका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमका अध्यक्ष लोकेन्द्रबहादुर शाही र नेपाल नगरपालिका संघ सुदूरपश्चिमका संयोजक तथा गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले मुख्यमन्त्री भट्टलाई पत्र पठाउँदै संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तअनुसार प्रदेश–स्थानीय सम्बन्धलाई थप संस्थागत गर्न माग गरेका हुन्।
उनीहरूले प्रदेश तथा स्थानीय सरकार समन्वय तथा विवाद समाधान ऐन, २०७९ अनुसार विषयगत समिति र प्रदेश समन्वय परिषद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।
स्थानीय सरकारको वर्तमान कार्यकालको अन्तिम वर्ष भएकाले बेरुजु फर्छ्योट, वित्तीय अनुशासन, सार्वजनिक वित्त व्यवस्थापन, उपलब्धिको अभिलेखीकरण तथा स्थानीय तहका असल अभ्यासको प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गरिएको छ। स्थानीय तहका कानुनको एकीकृत डिजिटल अभिलेख प्रणाली स्थापना गर्नसमेत आग्रह गरिएको छ।
त्यस्तै, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलगायत प्रदेशस्तरीय संरचनामा स्थानीय सरकारका संघ–महासंघको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न, आगामी स्थानीय तह निर्वाचनपछि आउने जनप्रतिनिधिका लागि कम्तीमा सातदिने क्षमता विकास कार्यक्रमको पूर्वतयारी गर्न तथा कर्मचारी सरुवा–पदस्थापनलाई भौगोलिक आवश्यकता र कार्यबोझका आधारमा न्यायोचित बनाउन माग गरिएको छ।
स्थानीय तहको भूगोलमा प्रदेशले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रम छनोटदेखि हस्तान्तरणसम्म सम्बन्धित स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्नेमा पनि जोड दिइएको छ। प्रदेशबाट स्थानीय तहमा जाने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान समयमै र पूर्वानुमानयोग्य रूपमा उपलब्ध गराउन महासंघले माग गरेको छ।
त्यसैगरी, ‘बजेट होलिडे’को अवस्था अन्त्य गर्दै प्रदेश बजेट शीघ्र पारित गर्न, बालमैत्री स्थानीय शासन तथा बालविवाह न्यूनीकरण अभियानमा स्थानीय तहलाई सहयोग गर्न र प्रदेशका निर्णय तथा प्रतिबद्धताको कार्यान्वयन अनुगमनका लागि ट्र्याकिङ प्रणाली विकास गर्न आग्रह गरिएको छ।
महासंघले प्रदेश–स्थानीय सरकारको सम्बन्ध निर्देशन र नियन्त्रणमा नभई अधिकारको सम्मान, सहकार्य र साझेदारीमा आधारित हुनुपर्ने धारणा व्यक्त गरेको छ।