गोदावरी नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन तथा गौ संरक्षणका विषयमा आज बृहत् सर्वपक्षीय छलफल आयोजना गरेको छ।
नगर प्रमुख वीरेन्द्र भट्टको आह्वानमा आयोजना गरिएको छलफलमा स्थानीय जनप्रतिनिधि, गौ संरक्षण अभियानमा आबद्ध युवा, सरोकारवाला तथा सम्बन्धित पक्षको सहभागिता रहने जनाइएको छ।
नगर प्रमुख भट्टले बिहीबार भिडियो सन्देश जारी गर्दै छाडा पशु चौपायाको समस्या समाधानका लागि आयोजित छलफलमा सहभागी हुन सबै पक्षलाई आह्वान गरेका थिए। उनले समस्या समाधानका लागि सबैको साझा पहल आवश्यक रहेको बताएका छन्।
यसअघि गौमाता संरक्षण अभियानमा आबद्ध स्थानीय युवाहरूले नगरपालिकाले गौ संरक्षणमा प्रभावकारी पहल नगरेको भन्दै बुधबार नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए।
नगरपालिकाले भने बिहीबार आफैं ताला खोलेको थियो। अभियानका अगुवा बिराज विष्टले जनताको प्रत्यक्ष सरोकारको विषयमा माग राखेर गरिएको तालाबन्दी नगरपालिकाले आफैं खोल्नु गैरजिम्मेवार कार्य भएको प्रतिक्रिया दिएका छन्।
यद्यपि, विष्टले छाडा पशु चौपाया व्यवस्थापन र गौ संरक्षणका विषयमा सर्वपक्षीय छलफल आयोजना गर्नु सकारात्मक कदम भएको बताए।
गोदावरी क्षेत्रमा छाडा पशु चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै किसानका बालीमा क्षति पुग्ने समस्या समेत देखिँदै आएको छ। लामो समयदेखि देखिएको यस समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले सरोकारवाला पक्षसँग छलफल अघि बढाएको हो।
आजको छलफलबाट छाडा पशु चौपाया व्यवस्थापन तथा गौ संरक्षणका लागि ठोस योजना र कार्यान्वयनको बाटो तय हुने अपेक्षा गरिएको छ।