नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरूको सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्ति गर्दा नातागोतालाई प्राथमिकता दिन नहुने बताएको छ।
प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले भदौ ४ गते जारी गरेको पत्रमार्फत सचिवालयमा आवश्यक कर्मचारी तथा सहयोगी नियुक्त गर्दा आफन्त तथा नातागोतासँग प्रत्यक्ष सम्बन्ध भएका र पार्टी गतिविधिमा जिल्ला तथा निर्वाचन क्षेत्रमा कम संलग्न भएका व्यक्तिहरूलाई नियुक्त नगर्न निर्देशन दिएका छन्।
पत्रमा पछिल्लो समय पार्टीमा गुनासो बढ्दै गएको उल्लेख गर्दै योग्य, दक्ष, अनुभवी तथा जिम्मेवारी वहन गर्न सक्षम व्यक्तिहरूलाई पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्धता तथा जनसंगठन वा पार्टी कमिटीमा सक्रिय रूपमा काम गरेको आधारमा अवसर दिन उपयुक्त हुने जनाइएको छ।
एमाले प्रदेश कमिटीले नियुक्ति प्रक्रियामा योग्यता, क्षमता, अनुभव, प्रतिबद्धता र जिम्मेवारीलाई मुख्य आधार बनाउन तथा जिल्लाबाहिरका व्यक्तिहरूलाई नियुक्त गर्दा समेत विशेष ध्यान दिन निर्देशन दिएको छ।
उक्त पत्र प्रदेशसभाका दल नेता तथा संसदीय दलको कार्यालयमार्फत सम्बन्धित मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको छ।
यस निर्देशनले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा सांसदहरूको सचिवालयमा हुने राजनीतिक नियुक्तिमा पारदर्शिता र योग्यता कायम गर्न एमालेले जोड दिएको देखिएको छ।