राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आफूले उठाएको प्रश्नमा अडिग रहेको बताउँदै मुद्दा हाल्न चुनौती दिएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे आफूले उठाएको प्रश्नबाट पछि नहट्ने स्पष्ट पारे।
यसअघि समितिको बैठकमा आईजीपी कार्कीविरुद्ध उजुरी परेको भन्दै छानबिन गर्नुपर्ने धारणा सुनारले राखेका थिए। उक्त अभिव्यक्तिको आलोचना भएपछि आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका थिए।
बिहीबारको बैठकमा सांसद सुनारले सोही विषय पुनः उठाउँदै प्रहरीको खरिद प्रक्रियासम्बन्धी विवरण माग गरिएको तर त्यसको अवस्था स्पष्ट हुन नसकेको बताए।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन?’ उनले प्रश्न गरे। उनले यही बीचमा प्रहरीले करोडौँ रुपैयाँको टेन्डर आह्वान गरेको समेत बताए।
सुनारले प्रहरी मुख्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोपसमेत लगाए। उनका अनुसार ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्।’
आफूले अघिल्लो बैठकमा उठाएको प्रश्नमा आफू ‘अडिग र मजबुत’ रहेको बताउँदै उनले आफूले कसैको मानमर्दन नगरेको स्पष्टीकरण दिए।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’
सांसद सुनारले सार्वभौम संसदीय समितिमा उपस्थित भएर सांसदसँग जुहारी खेल्न नहुने समेत बताए। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।