नेपाली कांग्रेसको इतिहास केवल सरकार बनाउने र सत्ता सञ्चालन गर्ने लक्ष्य बोकेको एउटा राजनीतिक दलको कथा मात्र होइन। यो लोकतन्त्र, नागरिक स्वतन्त्रता, संवैधानिक शासन र राष्ट्रिय एकताको बृहत् आन्दोलनको इतिहास हो।
त्यसैले कांग्रेसभित्र हुने गतिविधिको मूल्याङ्कन तत्कालीन राजनीतिक लाभ–हानिमा मात्र सीमित रहँदैन। त्यसले दीर्घकालीन वैचारिक दिशा, संस्थागत संस्कृति र जनविश्वासमा पार्ने प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यी पक्षलाई बेवास्ता गरेर गरिने मूल्याङ्कनले सही निष्कर्ष दिन सक्दैन।
यसपटक असन्तुष्ट नेताहरूले आयोजना गर्न लागेको आगामी २९ गतेको भेला पनि यिनै ऐतिहासिक संवेदनशीलताको कसीमा उभिएको छ। भेला गर्ने अधिकार सबैलाई छ, तर त्यसबाट उत्पन्न हुने परिणाम कसै एक व्यक्तिको नियन्त्रणमा हुँदैन।
आज प्रश्न उठिरहेका छन्—भेलापछि कांग्रेसको वैचारिक आन्दोलन कता जान्छ? पार्टी विचारको बहसतर्फ अघि बढ्छ कि व्यक्ति–केन्द्रित ध्रुवीकरणतर्फ? यसले जनविश्वास बढाउँछ कि कार्यकर्तामा अन्योल सिर्जना गर्छ? जीवनभर योगदान दिएका अग्रजहरूको सम्मान उचो बनाउँछ कि उनीहरूको राजनीतिक विरासतलाई विवादमा तान्छ? यस्ता प्रश्नबाट जोगिने विकल्प के हो? आज कांग्रेसका धेरै सदस्य यिनै प्रश्नको उत्तर खोजिरहेका छन्।
लोकतान्त्रिक राजनीतिक दलभित्र फरक मत हुनु कमजोरी होइन, बरु ऊर्जा हो। नेपाली कांग्रेस फरक मत, बहस र लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न स्थापित भएको ऐतिहासिक दल हो। तर बहस र प्रतिस्पर्धाले संस्थागत संरचना तथा लोकतान्त्रिक मर्यादाको सीमा नाघे गम्भीर क्षति हुन सक्छ। त्यसले क्षणिक चर्चा र सीमित ध्रुवीकरण त दिन सक्छ, तर दीर्घकालीन सकारात्मक मार्ग दिन सक्दैन।
आज देशले कांग्रेसबाट गुटगत प्रतिस्पर्धा होइन, जिम्मेवार नेतृत्वको अपेक्षा गरेको छ। नागरिकले कुनै समूह सानो वा ठूलो छ भनेर मूल्याङ्कन गर्दैनन्; उनीहरू सुशासन, रोजगारी, आर्थिक सुधार र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता खोजिरहेका छन्। त्यसैले पार्टी अहिले जनअपेक्षाको सम्बोधनमा केन्द्रित हुनुपर्छ, जुन विधानको परिधिभित्र रहेर आत्मचिन्तन र संस्थागत प्रक्रियाबाट मात्र सम्भव हुन्छ।
पछिल्लो समय वरिष्ठ नेताहरूको अनुहार र योगदानलाई राजनीतिक सन्देश निर्माणको माध्यम बनाउने प्रयास पनि देखिएको छ। उहाँहरूको ऐतिहासिक योगदान सम्मानयोग्य छ, तर त्यसलाई गुटगत ब्रान्ड वा रणनीतिक हतियार बनाउनु उचित होइन। लोकतन्त्रका लागि जीवन समर्पण गरेका नेताहरूको योगदानलाई सम्मानभन्दा राजनीतिक उपयोगको साधन बनाउने प्रवृत्तिले अन्ततः इतिहासकै कठघरामा उभिनुपर्ने अवस्था सिर्जना गर्न सक्छ।
कांग्रेसले आफ्ना योगदान गरेका नेताहरूलाई सम्मान गर्न छोड्यो भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ। तर यथार्थ त्यस्तो होइन। नेतृत्वको प्रतिस्पर्धा र निर्णयप्रतिको असहमति कांग्रेसका लागि नयाँ विषय होइन। असहमति, बहस र लोकतान्त्रिक प्रतिस्पर्धा कुनै पुस्तामा सीमित हुँदैन। यसले योगदानको अस्वीकार गर्दैन, न त मर्यादित बहसले कसैको अपमान नै गर्छ। लोकतन्त्रमा बहस, प्रतिस्पर्धा र सम्मान सधैँ सहयात्री हुन्।
आज कांग्रेसले विगतका केही पथभ्रष्ट राजनीतिक शैलीलाई परिवर्तन गर्ने प्रयास गरिरहेको छ। संगठन सुदृढीकरण, नीति–केन्द्रित राजनीति, युवाको समावेशी सहभागिता, सुशासन, जनतासँग प्रत्यक्ष संवाद र परिणाममुखी नेतृत्वको बहसलाई केन्द्रले अभियानका रूपमा अघि बढाएको छ।
यी प्रयास अझै अपूर्ण हुन सक्छन्, तर सही दिशातर्फको संकेत भने देखिएको छ। विगतको भागबन्डाको राजनीतिक शैली क्रमशः कमजोर हुँदै गएको छ। अब विचार, परिवर्तनमुखी कर्म र जनविश्वासलाई आधार बनाएर अझ परिपक्व पार्टी निर्माण गर्नु समयको आवश्यकता हो।
यसका लागि व्यक्तिको व्यवस्थापनभन्दा पनि साझा विचार, पार्टीको विधान, संस्थागत निर्णय प्रक्रिया र जनउत्तरदायित्वमा आधारित एकता आवश्यक छ। कांग्रेसको भविष्य कुनै व्यक्तिको प्रभावले होइन, संस्थाको मजबुतीले निर्धारण हुनेछ।
नागरिक अधिकार र लोकतन्त्र स्थापनाका लागि जेल, निर्वासन र कठिन बलिदानको यात्रा तय गरेका अग्रजहरूको राजनीतिक विरासतलाई क्षणिक राजनीतिक फाइदाका लागि विवादित बनाइनु दुःखद विषय हो। लोकतन्त्रका ती योद्धा इतिहासका अटुट सेनानी हुन्, उहाँहरूको सम्मान कहिल्यै घट्नु हुँदैन। आजका निर्णयहरू नै भोलिको इतिहास बन्छन्। त्यसैले इतिहासलाई गौरवशाली बनाउने जिम्मेवारी आजका नेताहरूको काँधमा छ।
नेपाली कांग्रेसका अथक योद्धाहरूले आफ्नो गौरवशाली इतिहासको सम्मान गर्न चाहन्छन् भने व्यक्ति–केन्द्रित राजनीतिभन्दा विचार र नीतिको मन्थनमा सहभागी हुनुपर्छ। जनताको भावना, आशा र अपेक्षालाई आफ्नो राजनीतिक गन्तव्य बनाउनुपर्छ। अन्ततः कांग्रेसको लक्ष्य कुनै एक नेता वा समूहको भविष्य होइन; यो सम्पूर्ण राष्ट्र, लोकतान्त्रिक व्यवस्था र जनभावनाको सम्मानसँग जोडिएको विषय हो।
यिनै विषयमा गम्भीर मनन गर्दै नयाँ परिस्थितिमा नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढोस्। व्यक्ति होइन, विधिको सम्मान गर्दै नयाँ संस्थागत यात्राको प्रारम्भ गरोस्। नेताहरूले आफ्नो लामो राजनीतिक योगदानलाई सम्मानपूर्वक अगाडि बढाउने वातावरण बनोस्। जय नेपाल
लेखक - कांग्रेस कंचनपुरका नेता हुन ।