नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत देशभरका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति गठन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ।
कांग्रेसको वडा अधिवेशन शनिबार र आइतबार भएको थियो। अधिकांश वडामा कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधि चयन सर्वसम्मत रूपमा गरिएको निर्वाचन समितिले जनाएको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा समेत वडा अधिवेशन भएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा भने अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।
शनिबार र आइतबार अधिवेशन हुन नसकेका स्थानमा सोमबार अधिवेशन गर्ने तयारी गरिएको छ।
वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू आगामी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनेछन्