गोदावरी नगरपालिकाले ‘मेरो नगर, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन गरेको श्रमदान अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, सरसफाइकर्मी, शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागितामा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सम्पन्न गरिएको हो।
अभियानअन्तर्गत विश्वविद्यालय परिसरमा रहेका फोहोर, झाडी तथा अव्यवस्थित क्षेत्रहरूको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाइएको नगरपालिकाले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन २ वटा जेसीबी, २ वटा ट्र्याक्टर, २ वटा टिप्परलगायत आवश्यक उपकरण परिचालन गरिएको थियो।
नगरपालिकाका अनुसार स्वच्छ, सुन्दर र स्वस्थ वातावरण निर्माण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व हो। त्यसैले सरसफाइलाई अभियानमा सीमित नराखी दैनिक जीवनको संस्कारका रूपमा अपनाउन सबै नागरिकलाई आग्रह गरिएको छ।
राष्ट्रिय गौरवको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा सार्वजनिक सम्पत्तिको संरक्षणप्रति स्थानीय सरकारको प्रतिबद्धतालाई व्यवहारमै पुष्टि गरेको नगरपालिकाको भनाइ छ।