पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई कम्तीमा ३ सय शय्याको क्षमतामा सञ्चालन गर्नु अनिवार्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै पौडेलले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा यो काम सम्पन्न गर्न सकिने बताएका छन्।
पौडेलका अनुसार उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा रहँदा गेटा अस्पताल सञ्चालन र एमबीबीएस पठनपाठन सुरु गर्नका लागि आर्थिक वर्ष २०८१/०८२ को बजेटमा नै स्रोत सुनिश्चितता गरिएको थियो। उनका भनाइमा त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भएको थियो, तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न आफूहरूको पूर्ण तयारी रहेको उनले उल्लेख गरे।
हाल अनशनरत डा. गोविन्द केसीको मागमा पौडेलले समर्थन जनाएका छन्। उनका अनुसार डा. केसीले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा रहेको उनले जनाएका छन्।
तर, विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्याउने खेल भइरहेको उनको आरोप छ।
पौडेलले गेटा अस्पताललाई तत्काल ३ सय बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो भएको धारणा राखे।
उनका अनुसार यसो नगरिकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुने छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुन सक्ने छ।