नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू पुनः नेपाल फर्किने तयारीमा रहेको जानकारी दिएका छन्। उपचारका क्रममा हाल विदेशमा रहेका देउवाले बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन्।
विज्ञप्तिमा देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने चिन्ता व्यक्त गर्दै पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि आफू पूर्ण आस्था राख्ने बताएका छन्।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सबै राजनीतिक शक्ति, नागरिक समाज, युवापुस्ता र आमजनतासँग उनले आग्रह गरेका छन्।
सरकारमाथि गम्भीर आरोप
देउवाले वर्तमान सरकारले प्रतिपक्षविरुद्ध प्रतिशोधको राजनीति अघि बढाइरहेको आरोप लगाएका छन्। स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको दाबी गर्दै, न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणको औजार बनाउन खोजिएको उनको भनाइ छ।
फरक विचारप्रतिको असहिष्णुता र राजनीतिक पूर्वाग्रहमा आधारित दमन लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने उनले उल्लेख गरेका छन्।
मेलमिलाप र एकताको आह्वान
बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्दै देउवाले हालको परिस्थितिमा विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्य आवश्यक रहेको बताएका छन्। नयाँ पुस्ताको ऊर्जा, प्रविधि र ज्ञानलाई लोकतान्त्रिक मूल्यसँग जोडेर साझा राष्ट्रिय अभियान अघि बढाउनुपर्ने उनको सुझाव छ।
आफ्नो छ दशकभन्दा लामो राजनीतिक यात्रामा निरंकुशता र अधिनायकवादविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गर्दै, लोकतन्त्र र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको देउवाले प्रष्ट पारेका छन्। लोकतन्त्रको रक्षा नै राष्ट्रको रक्षा भएको भन्दै उनले नेपाली कांग्रेसमाथि यो ऐतिहासिक जिम्मेवारी थपिएको औंल्याएका छन्।