कैलाली, ४ श्रावण। धनगढी उप-महानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा घर भाडामा लिई युवा-युवतीहरूलाई राखी अभौतिक (क्रिप्टो) मुद्रा कारोबार गराउने गोरखधन्दा सञ्चालन गरिरहेको सञ्जाल प्रहरीको फन्दामा परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले संलग्न ९ जनालाई पक्राउ गरेको हो।
कसरी भयो कारबाही?
प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो— बसपार्क नजिकैको एउटा घरमा केही व्यक्तिले युवा-युवतीहरूलाई भाडामा राखी सफ्टवेयर प्रयोग गरी संकासद (एजेन्ट) रूपमा अभौतिक मुद्रा कारोबार गरिरहेका छन्। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय भई सो स्थानमा रीतपूर्वक खानतलासी सञ्चालन गरेको थियो। खानतलासीका क्रममा उक्त अवैध कारोबारमा प्रत्यक्ष संलग्न रहेको भन्दै ९ जनालाई नियन्त्रणमा लिइयो।
पक्राउ परेकाहरूलाई सम्मानित अदालतबाट थुनुवा म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
को-को छन् पक्राउमा?
प्रेम बहादुर साउद (३४) — गौरीगंगा न.पा., बनबेहडा, कैलाली
दिपक मगर (३४) — त्रिजुगा न.पा. वडा नं. १२, उदयपुर
रवि कुमार सूर्यबंशी (३६) — रानी, दिल्ली, भारत
दिपक कुमार जाट (३४) — सोनिपत, हरियाणा, भारत
जितेन्द्र कटेल (३७) — भरतपुर महानगरपालिका वडा नं. १, चितवन
राज कुमार मोंगान (४३) — महालक्ष्मी न.पा. वडा नं. ८, ललितपुर
रजन चुडाल (४५) — काठमाडौँ
हरि प्रसाद चापागाईं (४६) — दमक न.पा. वडा नं. १, झापा
ज्ञानेन्द्र ढकाल (३९) — धनगढी उप-म.न.पा. वडा नं. ३, कैलाली
पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक पनि रहेका छन्, जसले यो सञ्जाल अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको आशंका बढाएको छ।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता तथा प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार यो सञ्जालले सफ्टवेयर मार्फत सर्वसाधारणलाई आकर्षक प्रतिफलको लोभ देखाई रकम संकलन गर्ने गरेको थियो।
थप अनुसन्धानबाट थुप्रै तथ्य खुल्ने सम्भावना रहेको र यस्तो सञ्जालमा कोही नफसिन प्रहरीले सचेतना जारी गरेको छ।