"ग्रिन गोदावरी, क्लिन गोदावरी" तथा "हाम्रो नगर, सफा सुन्दर शहर" भन्ने मूल नारालाई आत्मसात् गर्दै गोदावरी नगरपालिकाले गोदावरी आर्यघाटमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
नगर प्रमुख वीरेन्द्र भट्टसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागितामा आर्यघाट परिसर र आसपासका क्षेत्रको फोहोर संकलन गरी सरसफाइ गरिएको थियो। कार्यक्रममा देवीदल गण तेघरी ब्यारेकको पनि सहकार्य रहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले सफा, हराभरा र व्यवस्थित गोदावरी निर्माण गर्ने अभियान कुनै एक दिनको कार्यक्रम नभई हरेक नागरिकको साझा दायित्व भएको बताउनुभयो। उहाँले नगरपालिकाले थालेको सरसफाइ अभियानलाई जनसहभागितासँग जोडेर निरन्तर अघि बढाइने उल्लेख गर्दै वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा स्वस्थ जीवनशैलीका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अन्तिम संस्कारका क्रममा प्रयोग गरिएका सामग्री तोकिएको स्थानमा व्यवस्थापन गर्न तथा पानीका बोतललगायत फोहोर जथाभावी नफाली डस्टबिनमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि अनुरोध गर्नुभयो।
नगर प्रमुख भट्टले स्वच्छ, सुन्दर र व्यवस्थित गोदावरी निर्माण अभियानमा सबै नगरवासीलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै यस्ता सरसफाइ कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
गोदावरी नगरपालिकाले सरसफाइ, हरियाली प्रवर्द्धन र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै नगरलाई स्वच्छ, सुन्दर र उदाहरणीय शहरका रूपमा विकास गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ।