नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको औपचारिक पहल सुरु गरेको छ।
बिहीबार बसेको नेकपाको संसदीय दलको बैठकले मुख्यमन्त्री शाह नेतृत्वको सरकारले प्रदेशसभामा बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको हो।
बैठकमा प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले अब सरकारको नेतृत्व पनि नेकपाले नै गर्नुपर्नेमा सांसदहरू एकमत भएका थिए। सोही निर्णयअनुसार अन्य राजनीतिक दलसँग छलफल तथा सहमति जुटाउन पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ।
वार्ता टोलीमा संसदीय दलका नेता खगराज भट्ट संयोजक रहेका छन्। टोलीका सदस्यहरूमा प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी रहेका छन्। उक्त टोलीले सरकार गठनका लागि आवश्यक समर्थन जुटाउने विषयमा विभिन्न दलसँग छलफल गर्ने जनाइएको छ।
सरकार अल्पमतमा परेसँगै प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। साथै, आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रियामा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। प्रदेशसभाले बजेट पारित गर्न बिहीबार मध्यरातिसम्म समय पाएको छ।
हाल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका १८ सांसद रहेका छन्। तीमध्ये प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिकामा रहेकाले सदनमा उपस्थित छैनन्।
प्रदेशसभामा २० सांसदसहित (निलम्बित सदस्य र सभामुखबाहेक) नेकपा सबैभन्दा ठूलो दल रहेको छ। यस्तै नेकपा एमालेका ११ सांसद, राप्रपाका एक सांसद रहेका छन् भने एक प्रदेशसभा सदस्यको पद रिक्त छ।
प्रदेशको विकसित राजनीतिक घटनाक्रमले अब नयाँ सरकार गठनको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।