सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई कानुनले व्यवस्था गरेको ५० प्रतिशत भाडा छुट र आरक्षित सिट उपलब्ध गराउन सबै सार्वजनिक सवारी साधनलाई निर्देशन दिएका छन्।
एसपी कार्कीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ तथा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ ले अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा सिट आरक्षणको व्यवस्था अनिवार्य गरेको छ।
कानुनअनुसार नेपाल सरकार वा स्थानीय तहबाट जारी गरिएको अपाङ्गता परिचयपत्र (रातो, नीलो वा पहेँलो कार्ड) प्रस्तुत गरेपछि सम्बन्धित व्यक्तिले उक्त सुविधा पाउनेछन्। साथै कडा, पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिको साथमा रहने एक जना सहयोगीले पनि ५० प्रतिशत भाडा छुट पाउने व्यवस्था रहेको छ।
एसपी कार्कीले कानुनविपरीत अपाङ्गता भएका व्यक्तिलाई भाडा छुट नदिने, आरक्षित सिट उपलब्ध नगराउने वा दुर्व्यवहार गर्ने सार्वजनिक सवारी साधनमाथि प्रचलित कानुनबमोजिम जरिवाना तथा अन्य आवश्यक कारबाही गरिने चेतावनी दिएका छन्।
उनले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो कानुनी अधिकारबाट वञ्चित भएको जानकारी ट्राफिक प्रहरीलाई गराएमा सम्बन्धित सवारी साधनलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिने स्पष्ट पारे।
ट्राफिक प्रहरीले सबै सार्वजनिक यातायात व्यवसायी, चालक तथा परिचालकलाई अपाङ्गता भएका व्यक्तिको सम्मान गर्दै कानुनले तोकेको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन समेत आग्रह गरेको छ।