कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश भट्टराईले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
बुधबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै भट्टराई नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।
भट्टराई प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लोकराज ( एल आर) ओझा, वस्तुगत उपाध्यक्षमा विरेन्द्र विष्ट र वाणिज्य उपाध्यक्षमा समीर गीरी उम्मेदवार रहेका छन् ।
त्यस्तै महासचिवमा गोकुल भट्ट, कोषाध्यक्षमा दिपेन्द्र अवस्थी र राजन सिजापती सचिवमा उम्मेदवार रहेका छन् ।
त्यस्तै यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र विक सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
यसअघि अध्यक्षका अर्का उम्मेदवार कमल कडायतले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संघमा हाल १ हजार २४ सदस्य आबद्ध रहेका छन् ।
प्रतिबद्धताहरु यस्ता छन्
प्रतिबद्धतापत्रमा स्थानीय सरकारसँग सहकार्य गरी 'मिसन गोदावरी–क्लिन गोदावरी' अभियान, व्यवसायीको हकहित संरक्षण, उद्योग वाणिज्य संघको भौतिक सम्पत्ति तथा जग्गा व्यवस्थापन, उद्योग–विद्यालय सहकार्य, प्रत्येक वडामा व्यवसायीसँग प्रत्यक्ष भेटघाट, बैंक तथा वित्तीय संस्थासँग समन्वय, बजार सुरक्षा, डिजिटल बजार प्रवर्द्धन, स्थानीय बजारमै किनमेल गर्न प्रोत्साहन, व्यवसायी सहायता कोष, युवा स्टार्टअप प्रवर्द्धन, व्यवसायी हेल्प डेस्क स्थापना, निःशुल्क व्यवसाय विस्तार परामर्श सेवा, उत्कृष्ट व्यवसायी सम्मान, स्थानीय कृषि उत्पादनको बजारीकरण, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउने, कर तथा कानुनी विषयमा निःशुल्क तालिम तथा संघका महत्त्वपूर्ण बैठक र निर्णय सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने लगायतका योजना समेटिएका छन्