अत्तरिया उद्योग वाणिज्य संघको असार २७- २८ गते हुने साधारण सभा तथा चुनावी अधिबेशनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदकी उम्मेदवार भिम्सा खड्का (जेनिसा) नेतृत्वको प्यानलले टिम घोषणा गरेको छ।
सामाजिक संजाल मार्फत बाणिज्य उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण धामीले टिम घोषणाको जानकारी दिएका हुन् । यस्तै उक्त टिमले आफ्नो दृष्टिकोण र कार्ययोजना समेत सार्वजनिक गरेको छ।
प्यानलले पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री उद्योग वाणिज्य संघ निर्माण गर्ने, सबै व्यवसायीलाई समान अवसर र नेतृत्वमा सहभागिता सुनिश्चित गर्ने, व्यवस्थित, सुरक्षित, सफा र आकर्षक गोदावरी बजारको विकास गर्ने तथा प्रविधिमैत्री डिजिटल सेवामार्फत छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै कार्ययोजनाअन्तर्गत संघका हरेक बैठकलाई प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने, व्यवसायीहरूको सुरक्षाका लागि बीमाको व्यवस्था मिलाउने, सबै व्यवसायीलाई नेतृत्वमा समान अवसर दिने, विधान संशोधन गरी एक कार्यकालको सिन्डिकेट व्यवस्था अन्त्य गर्ने, फुटपाथ, पार्किङ, CCTV, सरसफाइ र स्मार्ट बजार व्यवस्थापनमा पहल गर्ने उल्लेख गरिएको छ।
प्यानलले पहिलो १०० दिनभित्र विगतका आर्थिक हिसाब र प्रतिवेदन सार्वजनिक गर्ने तथा मोबाइल एपमार्फत सदस्यता नवीकरण र व्यवसायीलाई प्रविधि तथा ई–कमर्ससँग जोड्ने योजना पनि अघि सारेको छ।
यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भिम्सा खड्का (जेनिसा), बाणिज्य उपाध्यक्षमा लक्ष्मण बहादुर धामी, बस्तुगत उपाध्यक्षमा हेमराज सापकोटा, महासचिवमा अनीश सिंह, कोषाध्यक्षमा राम दत्त भट्ट, सचिवमा दीपक राज भट्ट तथा सदस्यहरूमा गोविन्द रोकाया, दिल बहादुर खत्री, भुवराज जोशी र दीपा चौधरी रहेका छन्। अध्यक्षमा भने बिधान अनुसार एक कार्यकाल कमिटीमा बसेको हुनुपर्ने हुँदा उक्त समुहले अध्यक्षमा उम्मेदवारी नदिने भएको छ ।