अत्तरिया उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै जाँदा व्यवसायीहरूबीच चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न समूह आ–आफ्ना उम्मेदवार छनोट तथा प्यानल निर्माणमा जुटेका छन्। यद्यपि हालसम्म कुनै पनि समूहले आधिकारिक रूपमा आफ्नो उम्मेदवार वा प्यानल घोषणा गरेको छैन।
अध्यक्ष पदका लागि संस्थाका पूर्व उपाध्यक्ष कमल कडायत, उपाध्यक्ष नैनसिंह कार्की र पूर्व सदस्य रमेश भट्टराईको नाम चर्चामा रहेको छ।
स्रोतका अनुसार रमेश भट्टराईलाई संस्थापक अध्यक्ष वसन्त रोकाया, वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा, निवर्तमान अध्यक्ष अशोकराज देवकोटासहित संस्थाका केही पूर्व पदाधिकारीहरूको समर्थन रहेको चर्चा छ।
यसअघि वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र यज्ञराज जोशीको नाम पनि अध्यक्षका सम्भावित उम्मेदवारका रूपमा चर्चामा थियो। तर सहमतिपछि जोशी पछि हटेको र बोहराले सबै पक्षको साझा समर्थन भए मात्र उम्मेदवारी दिने अडान राखेको बताइएको छ।
यता, पूर्व उपाध्यक्ष कमल कडायतलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्कालगायतका व्यवसायीहरूको साथ रहेको बुझिएको छ।
संस्थापक उपाध्यक्ष नैनसिंह कार्कीले नेतृत्व सहमतिमै चयन हुनुपर्ने पक्षमा आफूहरू अझै रहेको बताए। तर सहमतिको सम्भावना कमजोर बन्दै गएपछि आवश्यक परे चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी भइरहेको उनको भनाइ छ।
तीन समूहको उम्मेदवारी हुने चर्चा चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यवसायीहरूको एउटा समूहले पनि उद्योग वाणिज्य सङ्घमा आफ्नो प्रतिनिधित्व खोजिरहेको छ। उनीहरूले तीनवटै समूहसँग महासचिव पदको दाबी गर्दै छलफल गरिरहेका छन्। तर हालसम्म कुनै पनि समूह महासचिव पद दिन सहमत नभएको स्रोतले जनाएको छ।
गत जेठ २३ गते सम्पन्न साधारण सभाले असार २७ गते अधिवेशन र असार २८ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। सोही सभाले अधिवक्ता देवराज भट्टको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिसकेको छ।
हाल अत्तरिया उद्योग वाणिज्य सङ्घमा नयाँ र पुराना गरी एक हजारभन्दा बढी सदस्य रहेका छन्। यसपटकको निर्वाचनमा नेतृत्व कसले सम्हाल्ने भन्ने विषयलाई लिएर व्यवसायीहरूबीच व्यापक चासो देखिएको छ।