धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आज आयोजित नगरसभाको १५औँ अधिवेशन मा उपप्रमुख कन्दकला कुमारी राना ले बजेट प्रस्तुत गरेकी हुन्।
उपप्रमुख रानाका अनुसार कुल बजेटमध्ये चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटका लागि आन्तरिक आयबाट ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ६ करोड ७९ लाख, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको २ अर्ब ५६ करोड ४ लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको र १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।
उपमहानगरले आगामी वर्ष पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यक्रम लाई प्राथमिकतामा राखेको जनाएको छ। साथै नगर गौरवका आयोजना सञ्चालन, वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, आयोजना बैंक स्थापना तथा सीप तथा रोजगार मेला लाई निरन्तरता दिने योजना पनि बजेटमा समावेश गरिएको छ।