सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट पारित हुन नदिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सक्रिय भएको जनाएको छ। दलाल र बिचौलियाको स्वार्थअनुसार बजेट ल्याइएको आरोप लगाउँदै नेकपाले सम्पूर्ण राजनीतिक शक्ति प्रयोग गरेर बजेट असफल बनाउने रणनीति अघि सारेको हो।
नेकपाले सत्ता पक्षका कम्तीमा दुई सांसदको सहयोग प्राप्त भए बजेट फेल गर्न सकिने अपेक्षा गरेको छ। बजेट पारित हुनबाट रोक्न सत्तारुढ दलका सांसदहरूसँग समेत संवाद भइरहेको संकेत नेकपाले दिएको छ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारले ल्याएको बजेट दलाल र बिचौलियाको हितलाई केन्द्रमा राखेर तयार गरिएको आरोप लगाए।
उनले यस्तो बजेट स्वीकार्य नभएको बताउँदै प्रदेश सभाका सबै सांसदलाई बजेट पारित हुन नदिन आग्रह गरे।
भट्टले योजना छनोट प्रक्रियामै गम्भीर अनियमितता भएको दाबी गर्दै मन्त्रालयमार्फत आउनुपर्ने योजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समावेश गरिएको आरोप लगाए।
उनले भने, ‘मन्त्रालयमार्फत जानुपर्ने योजना मुख्यमन्त्रीको कार्यालयमा टाइप भएका छन्। होटल र गोप्य ठाउँमा सुटकेस बुझेर योजना हाल्ने काम भएको छ। त्यसैले बजेटलाई असफल बनाउन सबै सांसदलाई आग्रह गर्दछु। बेथिति रोक्ने दायित्व सबैको हो। सत्ताधारी पक्षबाट पनि बजेट फेल गर्न पहल हुने अपेक्षा छ।’
उनका अनुसार सरकारले ल्याएको बजेट आफ्नै नीति तथा कार्यक्रम, आयोजना छनोट मापदण्ड, दलीय अनुशासन तथा मुख्यमन्त्री र मन्त्रीहरूले गरेका प्रतिबद्धतासँग समेत बाझिएको छ।