सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको विरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा दिएको ‘नेपालले पनि भारततर्फ सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।
संसद बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन्। उनले नेपालले छिमेकी मुलुकको कुन–कुन क्षेत्रमा सीमा अतिक्रमण गरेको हो भन्ने तथ्य पुष्टि गर्न वा आफ्नो भनाइ सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरे।
‘प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर जुन अभिव्यक्ति दिनुभएको छ, त्यसलाई सच्याउनुपर्छ। हाम्रो देशले छिमेकी देशको कहाँ–कहाँ सीमा अतिक्रमण गरेका रहेछौँ भनेर पुष्टि गर्नुपर्छ,’ साम्पाङले भने, ‘यसलाई माफी माग्नुपर्छ भन्ने पनि नभनौँ, तर उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ।’
उनले भूगोलबिनाको देश अस्तित्वमा रहन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले उक्त विषय स्पष्ट नपारेसम्म अन्य विषयमा प्रवेश गर्नु उपयुक्त नहुने बताए।
साम्पाङले सीमा सुरक्षाका लागि नेपाली सेनालाई सीमाक्षेत्रमै तैनाथ गर्नुपर्ने धारणा पनि राखे। ‘म त भन्छु नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्नुपर्छ। सेनालाई राख्नुपर्ने ठाउँ सिमाना हो,’ उनले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्री वा अन्य व्यक्तिले नभई प्रधानमन्त्री स्वयंले नै सच्याउनुपर्ने माग समेत गरेका छन्।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसदमा लगातार अवरोध भइरहेको छ भने विपक्षी दलहरूले यस विषयमा स्पष्ट जवाफको माग गरिरहेका छन्।