झन्डै दुई सातादेखि सुदूरपश्चिम प्रदेश कांग्रेसभित्र चर्किएको शक्ति संघर्ष अन्ततः मुख्यमन्त्री परिवर्तन नभई मन्त्रीमण्डल पुनर्गठनमा टुंगिएको छ। दलको नेताबाट हटाउने अभियान कमजोर बनेपछि मुख्यमन्त्री कमलबहादुर शाह पद जोगाउन सफल भएका छन्।
शनिबार साँझ भएको छलफलपछि कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउने सहमति जुटेको स्रोतले जनाएको छ। सहमतिअनुसार असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री तथा शाह पक्षलाई एक मन्त्री र एक राज्यमन्त्री दिने गरी भागबन्डा मिलाइएको बताइएको छ।
यससँगै प्रदेश सरकारमा कांग्रेसका तर्फबाट रहेका कम्तीमा दुई मन्त्री र एक राज्यमन्त्री फिर्ता हुने सम्भावना रहेको छ। केही स्रोतका अनुसार कांग्रेसका तीनै मन्त्री र दुवै राज्यमन्त्री परिवर्तन हुन सक्ने अवस्था पनि बनेको छ। यद्यपि मुख्यमन्त्री शाह पक्षले आर्थिक मामिलामन्त्री बहादुर थापालाई कायम राख्न चाहेको बताइएको छ।
असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्ट समूहले भने आर्थिक मामिला मन्त्रालयमै दाबी गरिरहेको छ। हाल कांग्रेसबाट सरकारमा आर्थिक मामिलामन्त्री बहादुर थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम रहेका छन्।
मुख्यमन्त्रीविरुद्धको अभियानले गत साता नाटकीय मोड लिएको थियो। १७ सदस्यीय कांग्रेस संसदीय दलमध्ये (एक सांसद विदेशमा रहेका बाहेक) नौ जना सांसदले शाहलाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका थिए।
तर प्रदेशसभा सदस्य डम्मरी महरा रक्षाले अन्तिम समयमा हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री हटाउने अभियान कमजोर बनेको थियो।