कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाबीच लामो समयदेखि रहँदै आएको सामुदायिक वन तथा वन क्षेत्रको सीमा सम्बन्धी विवाद समाधानतर्फ महत्वपूर्ण पहल भएको छ।
दुवै स्थानीय तह, वन कार्यालयका अधिकारी तथा सरोकारवालाहरूको संयुक्त बैठकले आपसी समन्वय र वैज्ञानिक आधारमा सीमा निर्धारण गर्ने सहमति गरेको हो।
कृष्णपुर नगरपालिकाको सभाहलमा नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा आयोजित बैठकमा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बैठकमा कैलाली र कञ्चनपुरका डिभिजन वन कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ तथा कृष्णपुर नगरपालिका वडा नं. ४ को सीमा क्षेत्रमा रहेका सामुदायिक वनको क्षेत्राधिकार सम्बन्धी विवाद समाधानका लागि बैठकले स्थलगत निरीक्षण, प्राविधिक सहयोग र आपसी सहमतिका आधारमा सीमा रेखाङ्कन गर्ने निर्णय गरेको छ।
बैठकमा नगर प्रमुख वीरेन्द्र भट्टले वन क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा स्थानीय तह, वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहबीच अनिवार्य समन्वय आवश्यक रहेको बताए। नगर प्रमुख हेमराज ओझाले वन संरक्षणलाई प्राथमिकता दिँदै वृक्षारोपण, वन फँडानी नियन्त्रण तथा चोरी निकासी रोक्न विशेष ध्यान दिनुपर्ने धारणा राखे।
बैठकले सीमा क्षेत्रमा हुने वन व्यवस्थापन तथा छपानलगायतका कार्यहरू सम्बन्धित निकायहरूको समन्वयमा मात्र सञ्चालन गर्ने, वन क्षेत्रको ‘सेप फाइल’ तथा अवस्थिति नक्सा तयार गर्ने र २०८३ असार मसान्तभित्र आधिकारिक डिमार्केशन अद्यावधिक गर्ने निर्णय गरेको छ।
साथै, सीमा विवाद समाधानका लागि स्वीकृत कार्ययोजनाहरूलाई डिमार्केशनपछि सम्बन्धित जिल्लाको आधिकारिक नक्सामा समायोजन गरी आवश्यक संशोधन प्रक्रिया अघि बढाइने सहमति भएको छ। यो निर्णयलाई दुवै जिल्लाबीच वन व्यवस्थापनमा दीर्घकालीन सहकार्य र समझदारीको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।