धनगढी : नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशका ५ सांसद अहिले पनि आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्।
कैलालीको धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट निर्वाचित अधिकांश जनप्रतिनिधि पार्टी एकताको विपक्षमा रहेको बताएका हुन्।
उनका अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका ७ सांसदमध्ये ५ जना अहिले पनि आफूहरूसँगै छन्। उनले तीमध्ये २ सांसदले पद गए पनि साथ नछोड्ने प्रतिबद्धता जनाएको दाबी गरे।
रेशम चौधरीले पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापाको नाम उल्लेख गर्दै उनीहरू आफ्नो पक्षमा रहेको बताए।
उनले लुम्बिनी प्रदेशका ३ जना र मधेश प्रदेशका १ जना सांसद पनि आफूहरूसँग रहेको दाबी गरे।
“सुदूरपश्चिममा ५, लुम्बिनीमा ३ र मधेश प्रदेशमा १ सांसद हामीसँगै हुनुहुन्छ। अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि साथमै हुनुहुन्छ,” उनले भने, “सुदूरपश्चिमका ५ मध्ये २ सांसदले त पद नै गए पनि साथ नछोड्ने बताउनुभएको छ।”
सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको चर्चाबारे बोल्दै रेशम चौधरीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग केही बेरअघि संवाद भएको जानकारी दिए।
“प्रचण्ड जीले फोन गर्नुभएको थियो। हामी सुदूरपश्चिममा ५ जना छौँ, हामीले केही गर्न सक्दैनौँ भनेको छु,” उनले भने, “सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा सरकार नचलाएकै राम्रो हुन्छ।”