धनगढी - १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ । जेठ १ गतेदेखि कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी समग्र च्याम्पियन बनेको हो ।
धनगढीले प्रतियोगितामा ३० स्वर्ण, १४ रजत र ८ कास्यसहित कुल ५२ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगिताभर विभिन्न खेल विधामा धनगढीका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गरेका थिए ।
घोडाघोडी नगरपालिकाले १९ स्वर्ण, ९ रजत र १९ कास्यसहित कुल ४७ पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै, गोदावरी नगरपालिकाले ७ स्वर्ण, २४ रजत र १६ कास्यसहित ४७ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ ।
लम्कीचुहा नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ कास्यसहित १३ पदक जित्दै चौथो स्थान सुरक्षित गर्दा टिकापुर नगरपालिकाले २ स्वर्ण, २ रजत र १२ कास्यसहित १६ पदक जितेर पाँचौँ स्थान हासिल गरेको छ । गौरिगङ्गा नगरपालिकाले २ स्वर्ण, १ रजत र १२ कास्य तथा भजनी नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेका छन् ।
प्रतियोगितामा कैलालीका सबै नगरपालिकाले कम्तीमा एक स्वर्ण पदक जित्न सफल भएका छन् । गाउँपालिकातर्फ भने मोहन्याल गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्यसहित उल्लेखनीय प्रदर्शन गरेको छ । बर्दगोरिया, चुरे, कैलारी, जोशीपुर र जानकी गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन् ।
समापन समारोह कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश भण्डारीको सभापतित्व तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख तथा खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार जिल्लाभरका विद्यार्थी खेलाडीहरूको सहभागिताले खेल प्रतिभा प्रस्फुटनसँगै अनुशासन, सद्भाव र प्रतिस्पर्धात्मक भावना विकासमा महत्वपूर्ण योगदान पुगेको छ ।
यसैबीच, आगामी १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोदावरी नगरपालिकामा आयोजना हुने भएको छ । समापन समारोहमा गोदावरी नगरपालिकाले प्रतियोगिताको झण्डा ग्रहण गर्दै अर्को संस्करण भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।