जिल्ला प्रहरी कार्यालय कैलालीले वैशाख महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार एक महिनामा विभिन्न प्रकृतिका २०३ अपराध दर्ता भएका छन् भने २१६ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ज्यान सम्बन्धी २६, आत्महत्या २६, चोरी सम्बन्धी ४, संगठित तथा आर्थिक अपराध ८५, सामाजिक अपराध २५, महिला तथा बालबालिका सम्बन्धी २८, सवारी ज्यान ६ र अन्य ३ मुद्दा दर्ता भएका छन्।
जघन्य तथा गम्भीर अपराधअन्तर्गत ६३ वटा घटना दर्ता भएका छन्। जसमा कर्तव्य ज्यान १, मानव बेचबिखन ५, बैंकिङ कसुर २१, जुवातास ४, ठगी २ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३० घटना रहेका छन्।
प्रहरीले १०४ वटा सार्वजनिक चासोका पेण्डिङ मुद्दामध्ये २ वटा फर्छ्यौट गरेको जनाएको छ। फैसला कार्यान्वयनतर्फ २६ जना पक्राउ परेका छन् भने १३ वर्ष ५ महिना १२ दिन कैद तथा १ लाख ७१ हजार ७०४ रुपैयाँ जरिवाना असुल गरिएको छ।
घरेलु हिंसाका ७० उजुरी परेका मध्ये ७३ वटा मिलापत्र गरिएको तथ्यांकमा उल्लेख छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ७० उजुरीमध्ये अधिकांश पीडित २६ देखि ४५ वर्ष उमेर समूहका रहेका छन्।
यस्तै, वैशाख महिनामा ७३ जना हराएका र ७२ जना फेला परेका छन्। ठाडो उजुरीतर्फ प्रहरी कार्यालयमा परेका २४५ वटै उजुरी फर्छ्यौट गरिएको प्रहरीको दाबी छ।
लागूऔषध सम्बन्धी ५८ वटा मुद्दा दर्ता
यस्तै लागूऔषध सम्बन्धी ५८ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा २ महिला र ९८ पुरुष गरी कुल १०० जना पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीले विभिन्न प्रकारका लागूऔषध समेत बरामद गरेको छ। तथ्यांकअनुसार ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन, २० ग्राम ३१० मिलिग्राम चरेश, ४४ ग्राम ९७० मिलिग्राम गाँजा तथा ५८१ वटा विभिन्न किसिमका लागूऔषध ट्याबलेट बरामद गरिएको छ।