नेपाली कांग्रेसका इतर समूहका नेता शेखर कोइरालाले १९ जना केन्द्रीय सदस्यको मनोनयनले पार्टीको एकतामा ठोस पुगेको बताएका छन् । सोमबार कांग्रेस सभापति गगन थापाले केन्द्रीय समिति विस्तार गरेपछि आफू निकट नेताहरूसँगको छलफलपछि कोइरालाले यस्ताे बताएका हुन् ।
‘हिजो वैशाख–२८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औँ महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ,’ उनले भनेका छन् ।
उनले पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर बृहत्तर एकताको दिशामा अघि बढ्नुपर्ने बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तारपछि आफू निकट नेताहरूसँगको छलफलपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी एकताबिना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने बताएका हुन् ।
कोइरालाले विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता भएको बताए । ‘पद र व्यक्तिभन्दा पार्टीको एकता महत्त्वपूर्ण हो । कांग्रेसको इतिहास र परम्पराले पनि यही सन्देश दिन्छ,’ उनले भने ।
कोइरालाले विगतमा विभाजित कांग्रेसले राजनीतिक क्षति मात्र नभई जनविश्वाससमेत गुमाएको स्मरण गराउँदै हालैको आमनिर्वाचन परिणामले नयाँ सोच, दृष्टिकोण र साझा भावनासहित अघि बढ्नुपर्ने सन्देश दिएको बताए ।
आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा व्याख्या गर्दै उनले जनताको भरोसा जित्न नसके पार्टीको राष्ट्रिय औचित्यमाथि नै प्रश्न उठ्न सक्ने खतरा औंल्याए ।
कोइरालाले कांग्रेससँग आबद्ध युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न भावनात्मक एकता र नागरिकमैत्री राजनीतिक संस्कार आवश्यक रहेको बताए । पार्टी नेतृत्वले सामूहिक भावना र साझा विचारबाट अघि बढ्ने विश्वाससमेत उनले व्यक्त गरे ।
लोकतन्त्र, संविधानवाद र पार्टीका मूल आदर्शमाथि पपुलिज्मको नाममा आक्रमण भइरहेको अवस्थामा पनि कांग्रेस गुट–उपगुटमा विभाजित रहनु दुःखद भएको उनको टिप्पणी थियो । गुटबन्दीको अन्त्य जति छिटो हुन्छ, नेपालको लोकतान्त्रिक पद्धतिले त्यति नै चाँडो आफ्नो मौलिक मूल्य पुनः प्राप्त गर्ने उनले बताए ।