धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएका छन्।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेयर हमालले हालसम्म प्राप्त सेवा–सुविधाको रकम शिक्षा, गौ–सेवा तथा असहायहरूको सहयोगमा खर्च गरिएको विवरण सार्वजनिक गरेका हुन्।
मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले आफूले प्राप्त गरेको रकम सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएको बताए। उनले विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरणलाई प्राथमिकता दिएको उल्लेख गरे।
आर्थिक वर्ष २०७८–०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरिएको थियो।
यस्तै, आर्थिक वर्ष २०७९–०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो। दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरी २६९ जना आश्रितहरू उक्त सहयोगबाट लाभान्वित भएका थिए।
आर्थिक वर्ष २०८०–०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजर वितरण गरिएको थियो। उक्त कार्यक्रममा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८१–०८२ मा धनगढीका ४७ सामुदायिक विद्यालयका ७ हजार ४ सय ७५ जना विद्यार्थीलाई करिब १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको मेयर हमालले जानकारी दिए।
नगरपालिकाका विज्ञ शिक्षक गणेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्षमा प्राप्त हुने सेवा–सुविधाको रकमबाट पनि थप स्टेशनरी वितरणको तयारी भइरहेको छ।
मेयर हमालले आर्थिक वर्ष २०८२–०८३ मा प्राप्त हुने सेवा–सुविधाको रकम पनि सामाजिक कार्यमै खर्च गरिने बताए। साथै, व्यक्तिगत तर्फबाट थप ५ लाख रुपैयाँ सहयोग गरी कुल सामाजिक योगदान ४४ लाख रुपैयाँ पुर्याउने योजना रहेको उनले जानकारी दिए।
हालसम्म नगर प्रमुखको सेवा–सुविधाबाट कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ। जसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ भने बाँकी रकममा उनले व्यक्तिगत रूपमा ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गरेका छन्।
ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरूको पढाइमा सहयोग पुग्ने उद्देश्यले स्टेशनरी वितरण गरिएको मेयर हमालको भनाइ छ।
उनले विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र सामाजिक अभियानलाई सघाउने उद्देश्यले सेवा–सुविधा त्यागेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको बताए। मेयर हमालका यस्ता कार्यले स्थानीय तहमा सकारात्मक नेतृत्वको उदाहरण प्रस्तुत गरेको चर्चा गरिएको छ।