कैलालीको अत्तरिया स्थित साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूले प्रचारप्रसारको अन्तिम कसरत तीव्र बनाएका छन्। करिब ५ हजारभन्दा बढी उपभोक्ता रहेको संस्थामा वैशाख २६ गते निर्वाचन हुँदैछ।
निर्वाचनमा तीन प्यानलसहित अन्य केही स्वतन्त्र उम्मेदवार मैदानमा छन्। गणेश शाह नेतृत्वको प्यानल, राजेन्द्र खड्का नेतृत्वको प्यानल र हर्क बहादुर शाह नेतृत्वको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
राजेन्द्र खड्का नेतृत्वको प्यानललाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले संस्थागत रूपमा समर्थन गरेका छन्। गणेश शाहको प्यानल भने स्वतन्त्र समूहको रूपमा परिचित छ।
हर्क बहादुर शाह नेतृत्वको प्यानलमा अधिकांश उम्मेदवार कांग्रेस निकट मानिन्छन्।
तीन प्यानलबाहेक गोरख बहादुर कडायतले पनि महासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। सबै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन्।
गणेश शाह यसअघि दुर्गालक्ष्मी नमुना विद्यालयको व्यवस्थापन समितिको नेतृत्व गरिसकेका व्यक्ति हुन्। राजेन्द्र खड्का भने सोही विद्यालयमा शिक्षक रहँदै व्यवस्थापन समितिको सदस्यको रूपमा काम गरिसकेका छन्।
खड्का पक्षले दलगत समर्थनका कारण जित सहज हुने दाबी गरेको छ। यता गणेश शाह समूहले खानेपानीजस्तो उपभोक्ता संस्थामा दलभन्दा व्यक्तिको क्षमता र स्वतन्त्र छविलाई मतदाताले प्राथमिकता दिने विश्वास व्यक्त गरेको छ। हर्क शाह समूहले भने खड्का र गणेश समूहबीचको प्रतिस्पर्धाबाट आफूलाई फाइदा पुग्ने आकलन गरेको छ।
गणेश शाह समूहबाट महासचिवमा तीर्थ ओझा उम्मेदवार बनेका छन् भने खड्का समूहबाट धर्म कुँवर महासचिवका उम्मेदवार हुन्।
संस्थाका उपभोक्ता गोदावरी नगरपालिका–१, २ र ४ नम्बर वडामा रहेका छन्।