नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार जारी शुभकामना सन्देशमा उनले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। न्याय, स्वतन्त्रता र समानताको संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदहरूको योगदान स्मरण गर्दै उनले घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरेका छन्।
प्रचण्डले ९ वैशाख २००६ मा स्थापना भएको नेकपाले अघिसारेको जनवादी आन्दोलनले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
उनले वर्तमान अवस्थामा पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू कायम रहेको भन्दै साँचो अर्थमा जनताको व्यवस्था अझै पूर्ण रूपमा स्थापित हुन नसकेको बताए। समाजमा विभेद कायम रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहने उनको भनाइ छ।
सन्देशमा उनले अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भ उठाउँदै साम्राज्यवाद अझ आक्रामक बन्दै गएको दाबी गरेका छन्। यस्तो अवस्थामा लेनिनका विचार र मार्गदर्शन अझ सान्दर्भिक बनेको उनले उल्लेख गरेका छन्।
प्रचण्डले समाजवाद र साम्यवादको लक्ष्य प्राप्तिका लागि सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि आह्वान गरेका छन्। साथै, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि सबै प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्