अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १७ औँ साधारण सभा वैशाख १२ गते हुने भएको छ भने नयाँ नेतृत्व चयन वैशाख २६ गते हुने भएको छ।
संस्थाका सहायक व्यवस्थापक यादव फुलाराका अनुसार करिब ५ हजार ७ सय ४२ उपभोक्ता रहेका छन्। गोदावरी नगरपालिका–१, २ र ४ (बसन्तपुर क्षेत्र) मा संस्थाले खानेपानी वितरण गर्दै आएको छ।
२०५८ सालमा स्थापना भई २०६४ माघदेखि औपचारिक वितरण सुरु गरिएको यस आयोजनाको २,४०५ धारा क्षमता भए पनि हाल ५,७४२ घरधुरीलाई सेवा दिइरहेको छ।
एसियाली विकास बैंक (ADB) को सहयोगमा सुरु भएको यो परियोजनामा ९ वटा डिप बोरिङमध्ये हाल ४ वटा मात्र सञ्चालनमा छन्।
संस्था दुई पटक उत्कृष्ट सेवाग्राही संस्थाको रूपमा पुरस्कृत भइसकेको छ। वर्षायाममा पानीको स्रोत कमजोर हुँदै गएपछि थप स्रोत खोजीका लागि दुईवटा डिपिआर तयार गरिएको सहायक व्यवस्थापक फुलाराले जानकारी दिए।
नयाँ नेतृत्व चयन को सरगर्मी
नयाँ नेतृत्व चयनका लागि संस्थाभित्र सरगर्मी बढेको छ। तर यसपटक विगतको जस्तो धेरै व्यक्तिहरू नेतृत्वका लागि उत्साही देखिएका छैनन्।
अध्यक्ष पदमा संस्थाका सचिव पी.आर. चटौतिले उम्मेदवारी दिने बताएका छन् भने कोषाध्यक्ष लक्ष्मण कठायतले पनि तयारी गरिरहेका छन्।
पूर्व कोषाध्यक्ष पदमराज जोशीले पनि नेतृत्वमा इच्छा देखाएका छन्।
महासचिव महादेव भट्टले भने नेतृत्व सहमतिमै चयन हुनुपर्नेमा जोड दिएका छन् ।