श्रम संस्कृति पार्टीका प्रमुख तथा सुनसरी क्षेत्र नम्बर १ का सांसद हर्क साम्पाङले विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन निषेध गर्ने सरकारी निर्णयको विपक्षमा धारणा सार्वजनिक गरेका छन्।
मंगलबार पत्रकार तथा युट्युबरसँग कुराकानी गर्दै साम्पाङले प्रतिबन्धभन्दा व्यवस्थापन र नियममार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन्। “बुद्धिमताका साथ ह्यान्डल गर्नुपर्छ, केही लिमिटेसन राखेर गर्नुपर्छ,” उनले भने, “निषेध नै समाधान होइन।”
आफ्नो दलको विद्यार्थी संगठन नै नभएको उल्लेख गर्दै उनले प्रतिबन्धको पक्षमा आफू नरहेको स्पष्ट पारे। “श्रम संस्कृतिको विद्यार्थी संगठन छैन, बनाउने विचार पनि छैन। क्याम्पसलाई टेबुल ठटाउने ठाउँ बनाउने पक्षमा हामी जाँदैनौँ,” उनले भने।
साम्पाङले विद्यार्थीहरूलाई शिक्षित जमातको रूपमा लिँदै उनीहरूमाथि पूर्ण प्रतिबन्ध आवश्यक नरहेको तर्क गरे। “हामी सबै भात खाने मान्छे नै हौँ, विद्यार्थी शिक्षित जमात हो,” उनले भने।
विद्यार्थी आन्दोलनकै जगमा सरकार गठन भएको उल्लेख गर्दै उनले संगठनमाथि प्रतिबन्ध लगाउने विषयमा फरक मत राखेका हुन्।
केही दिनयता सामाजिक सञ्जाल फेसबुक पेज हटेपछि कम मुखर देखिएका साम्पाङ पुनः पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका हुन्।
फरक प्रसंगमा उनले नेपाललाई आन्दोलनमुखी देशको रूपमा चित्रित गर्दै सांसदहरूले भने आन्दोलनमा जानु नपर्ने धारणा राखे। “नेपाल आन्दोलनको देश हो, तर सांसदले चाहिँ आन्दोलन गर्नु नपरोस्,” उनले भने।