कैलालीको अत्तरिया स्थित शारीरिक अपांगता भएका बालबालिका अध्यनरत सुप समाबेशी विद्यालयको १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा देवी बोहराको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री प्रकाशबहादुर बम रहेका थिए भने विशिष्ट अतिथिमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं शिक्षाविद् प्रा. डा. हेमराज पन्तको उपस्थिति रहेको थियो।
त्यस्तै विशेष अतिथिहरूमा प्रदेश सभा सदस्य तुलसी देवकोटा, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार, सैनिक आवासीय महाविद्यालयका प्र.स.नि. खिलबहादुर राना, नगर प्रवक्ता गोपालदत्त भट्ट, सह–प्राध्यापक डा. डम्बर पाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवी साउदले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक-अभिभावक संघका अध्यक्ष डबल साउदले कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका दर्जनौँ व्यक्तित्वलाई सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रम सफल बनाउन सत्यवती एकेडेमीले मेडल व्यवस्थापन, विनोद मल्लले टेन्ट सहयोग, डा. हेमराज पन्तले नास्ता सहयोग तथा नेपाल कपी उद्योग अत्तरियाले पुरस्कार सहयोग गरेका थिए।यसै अवसरमा कक्षा ८ का विद्यार्थीहरूलाई मायाको चिनो सहित विदाइ गरिएको थियो।
साथै सोही कार्यक्रममा स्थानीय अगुवा हरिकृष्ण पाण्डेले आफ्ना स्वर्गीय काकाको सम्झनामा रु. ५० हजारको अक्षय कोष स्थापना गरी त्यसको व्याजबाट ३ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्। उनले विद्यालयलाई प्रतिमहिना १२० युनिट बराबरको खानेपानी महसुल सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी तथा सहयोगीहरूप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ।