पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा नेकपा (एमाले) कैलालीले सरकारको ध्यानाकर्षण गराएको छ।
एमाले जिल्ला कमिटी कैलालीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई ध्यानाकर्षण पत्र बुझाउँदै ओली र लेखकको तत्काल रिहाइको माग गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा पार्टीका कार्यकर्ताहरू र्यालीसहित पुगेका थिए। जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पत्र बुझाएको जनाएको छ।
ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै कडा निन्दा र भर्त्सना गरिएको छ।
‘नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलाई आधार बनाएर गरिएको गिरफ्तारी केवल व्यक्ति विशेषमाथिको अन्याय मात्र नभई संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष आक्रमण हो,’ पत्रमा उल्लेख गरिएको छ।
एमाले कैलालीले दुवै नेतालाई बिना सर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ।
यसैगरी, २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि सर्वोच्च अदालतले प्रश्न उठाएको उल्लेख गर्दै उक्त प्रतिवेदन खारेज गरी बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन आयोग गठन गर्न पनि माग गरिएको छ।