राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुधन गुरूङ गृहमन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा ३८ वर्षीय गुरूङलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको हो।
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँका गुरूङ राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका हुन्। उनका बुवा दिलबहादुर गुरूङ तत्कालीन माओवादी आन्दोलनमा आबद्ध हुनुका साथै समाजसेवामा समेत सक्रिय थिए।
सामाजिक अभियन्ताका रूपमा चिनिएका गुरूङ ‘हामी नेपाल’ नामक संस्थाका संस्थापक अध्यक्ष हुन्। २०७२ सालको भूकम्पका बेला उनले राहत तथा उद्धार कार्यमा सक्रिय भूमिका खेलेका थिए। साथै, भदौ २३ गते भएको जेनजी आन्दोलनमा सहभागी भएपछि उनी सार्वजनिक रूपमा थप चर्चामा आएका थिए।
उक्त आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा उनले समन्वयकारी भूमिका खेलेको बताइन्छ। राष्ट्रपति कार्यालयसम्म पुगेर छिटो प्रधानमन्त्री नियुक्तिको पहल गरेको र पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार गठन नहुँदासम्म सक्रिय भूमिका निर्वाह गरेको दाबी गरिएको छ। सुशीला कार्कीले उनलाई ‘जेठो छोरा’ भनेर सम्बोधन गरेको प्रसंग पनि चर्चित छ।
२०४४ साल असार २५ गते जन्मिएका गुरूङ प्रतिनिधिसभा निर्वाचनअघि रास्वपामा सक्रिय भएका थिए। उनले रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच संवाद गराउने भूमिकामा समेत काम गरेका थिए। साथै, उज्यालो नेपाललाई रास्वपामा समाहित गराउने प्रयासमा पनि उनको सक्रियता देखिएको थियो।
निर्वाचनपछि सेवा–सुविधा नलिने घोषणा गरेका गुरूङले “तलब नखाने” अभिव्यक्ति दिएर चर्चा बटुलेका थिए। चुनावी प्रचारका क्रममा उनले आफू गृहमन्त्री बन्ने दाबीसमेत गरेका थिए।
नयाँ पुस्ताका नेताका रूपमा हेरिएका गुरूङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएपछि सुरक्षा, प्रशासन र सुशासन क्षेत्रमा कस्तो सुधार ल्याउने भन्नेमा चासो बढेको छ।