प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरपश्चिम टोलीलाई यसै सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गर्दै आएको छ। कलेजले आगामी तीन वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्ने जनाएको छ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना दिँदै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए। उनले क्रिकेटलाई व्यवसायिक रूपमा अघि बढाउन कलेजले सुरु गरेको पहललाई अन्य कर्पोरेट क्षेत्रसँग पनि जोड्ने प्रयास भइरहेको जानकारी दिए।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजप्रति आभार व्यक्त गर्दै उक्त विश्वासलाई मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता जनाए।
कप्तान मल्लले अनुभवी र युवा खेलाडीहरूको संयोजनले टोली सन्तुलित रहेको उल्लेख गर्दै शीर्ष चारभित्र रहने लक्ष्यका साथ टोली काठमाडौं प्रस्थान गर्ने बताए। उनले प्रायोजनले खेलाडीहरूको मनोबल थप बलियो बनाएको पनि बताए।
सुदूरपश्चिम टोलीमा कप्तान शेर मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन् ।