नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनवर्गीय संगठनहरूको बैठकमा चुनावमा आफ्नै पार्टीलाई भोट नहाल्नेलाई कारबाही गर्ने बताएका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभाको चुनावमा नेकपालाई केन्द्रीय सदस्यहरूले पनि भोट नहालेको रिपोर्ट आएको र भोट नहाल्ने केन्द्रीय सदस्यहरूलाई खोजेर कारबाही गर्ने बताए ।
जेन–जी आन्दोलनपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका पार्टी र समूहहरू मिलेर नेकपा बनेको थियो । तर, चुनावमा चौथो भएको छ । प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको छ । बिहीबार जनवर्गीय संगठनको बैठकमा प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरूले नै भोट नहालेकाले पार्टी पराजित भएको बताएका छन् ।
उनले भनेका छन्, ‘केन्द्रीय सदस्यहरू, प्रदेश समिति सदस्य र जनवर्गीय समितिका केन्द्रीय सदस्यहरूमाथि कारबाही नभए पार्टी बनाउन सकिँदैन । सबभन्दा पहिला केन्द्रीय सदस्यहरूबाटै त्यसको सुरुवात हुन्छ । ५० प्रतिशत घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ ।’
५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको उनले बताए । उनले भनेका छन्, ‘अरु बेला पार्टीको भन्ने, भोट हाल्ने बेलामा अन्त जाने पार्टीको हुन सक्दैन । त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ । कसले भोट हाल्यो हालेन, काम गर्ने र नगर्नेलाई समान रूपमा हेर्ने कुराको अन्त्य हुनुपर्छ । कमिटीहरू चुस्त दुरुस्त हुनुपर्छ भन्ने छ ।’
उनले भनेका छन्, ‘रास्वपाबाट महिलाले जितेको भनेको सुनेका छौँ । ती माओवादीले जनयुद्ध र जनआन्दोलन गरेर महिलाहरू यसरी आउनुपर्छ नभनेको भए कहाँबाट आउँथे ? हामीले भनेर आएका हुन् ?’
विचार र राजनीतिमा नेकपाले नेतृत्व गरेको पनि उनले बताए । उनले भने, ‘चुनावमा हाम्रोजस्तो व्यवस्थित परिचालन अरुको भएको छैन । रास्वपाको त हावाहुरीका कारण यति सिट आएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय फ्याक्टरहरू छन् । विकास गरेर जित्ने भए चितवनमा जित्नुपर्ने हो । जनताको चित्त बुझाएर, विकास गरेर हुने भए भक्तपुरमा नारायणमान विजुक्छेहरू हार्नुभयो । पैसाले जित्ने भए विनोद चौधरीले किन हार्नुपर्थ्यो ?’
विचार र राजनीति प्रमुख भएकाले अझै त्यसमा जोड दिनुपर्ने प्रचण्डले बताएका छन् ।