अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद, र आरजे २४ न्युज तथा नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारको अनुसार, ढकारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यसमितिले राजेश हमाल अभिनित ‘अन्धपथ’ फिल्म निर्माणका लागि १५ लाख रुपैयाँ छुट्याएर सरकारी बजेट दुरुपयोग गरेको उजुरी परेको थियो। लम्साल फिल्मका निर्माता हुन्।
अख्तियारले प्रतिवादीहरू मिलेमतो र बदनियतपूर्वक काम गरेको ठहर गर्दै, सार्वजनिक खरिद कानुन विपरीत १८ भदौ २०८१ मा फिल्म निर्माण सम्झौता गरिएको देखाएको छ। कानुनअनुसार खरिद प्रक्रिया नअपनाई प्रत्यक्ष सम्झौता गरी रकम भुक्तानी गराएको र झुट्टा बिल पेश गरेर थप खर्च गराएको आरोप छ।
अख्तियारले अध्यक्ष र सम्बन्धित कर्मचारीमाथि १२ लाख ७७ हजार २ सय २५ रुपैयाँ बिगो कायम गर्दै जरिवाना र हिनामिनाको रकम असुल गर्ने माग गरेको छ। लम्सालविरुद्ध पनि सोही बिगो कायम गर्दै सजाय माग गरिएको छ।
अधिकारसम्पन्न सरकारी अधिकारी र निजी निर्माता मिलेर गैरकानुनी तरिकाले सरकारी रकम दुरुपयोग गरेको अख्तियारको आरोप छ।