रास्वपा सभापति रवि लामिछानेले मन्त्री बन्न दाैडधुप नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् । सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानले मन्त्री बन्न दाैडधुप गर्ने परिपाटी अन्त्य हुनैपर्ने बताए ।
'मन्त्री बन्न कहीँकतै दाैडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ । घरघर धाउनुपर्दैन । कसैँसँग फोटो खिच्ने काम नगर्नुहोला', उनले भने ।
उनले पार्टीमा गुटबन्दी नगर्न पनि चेतावनी दिए । 'गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न सकिँदैन', लामिछानेले भने, 'मकेन्द्रित राजनीति नगराैँ । देशकेन्द्रित गराैँ ।' सभापति लामिछाने जनताले प्रष्ट बहुमत दिएकोले अब नतिजा दिनुको विकल्प नभएको बताएका छन् ।जनताले अभूतपूर्व अवसर दिएको भन्दै लामिछानेले अब कुनै पनि बहाना बनाएर भाग्न नमिल्ने बताएका हुन् ।
‘पछिल्लो परिवर्तनको कायान्वयन गर्न कानुन बन्न सकेका छैनन् । अब कुनै बहाना गर्ने ठाउँ हामीलाई छैन । बहाना बनाउन नपर्ने गरी स्पष्ट बहुमत र लगभग दुईतिहाइ मत आएको छ,’ रविले भने, ‘अब केहीले अड्काउँदैन । अड्काए तपाईं हाम्रै नियतिले अड्काउने हो ।’ यस्तै उनले सांसदहरूलाई आफ्नो धरातल नबिर्सिन र जिम्मेवार जनप्रतिनिधि बन्न निर्देश गरेका छन् ।
पार्टीको विधानमा ‘राइट टु रिकल’ को प्रावधान रहेको सम्झाउँदै संख्या घट्छ भन्ने चिन्ता नलिईकन गैरजिम्मेवार सांसदहरूलाई फिर्ता बोलाइने चेतावनी दिए ।
‘अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो । होइन, जो कसैलाई अझै पनि ‘म अभियन्ता नै हुँ’ जस्तो लाग्छ, हिजोको जस्तै जिम्मेवार नभएर अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस हल । तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन,’ लामिछानेले भने ।
उनले थपे, ‘सरकार दुई–तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यस पटक कडाइका साथ लागू गर्नेछ ।’आफूहरूसँग सहिद पत्नी पनि छन् भन्ने सोचेर काम गर्न उनले आग्रह गरे ।
लामिछानेले भने, ‘यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला । कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा अगाडि, एक कप चिया खानु अगाडि सहिदकी आमालाई सम्झिनुहोला । आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् सहिदकी आमा । यो सामान्य कुरा होइन ।’