सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रमुख प्रतिपक्ष दल नेकपा आक्रोशित बनेको छ। लगातार खबरदारी गर्दा पनि प्रदेश सरकारले सुशासन दिन नसकेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेको हो।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ। उक्त सरकारको नेतृत्व नेपाली काँग्रेसका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका रूपमा गरिरहेका छन्। माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेको नेकपा प्रदेशसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ।
बिहीबार नेकपा सुदूरपश्चिम संसदीय दलले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको कामकारबाहीप्रति कडा आलोचना गरेको हो। संसदीय दलका नेता खगराज भट्टले फागुन २१ गते भएको निर्वाचनको परिणामले पुराना दलहरू सचेत र गम्भीर बन्नुपर्ने संकेत दिएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले प्रदेश सरकारको अवस्थामाथि प्रश्न उठाउँदै भने, “सुदूरपश्चिम सरकार मृत हो कि जीवित हो, थाहा छैन। सरकार सुशासन दिन, कानुन निर्माण गर्न र आफूमाथि उठेका प्रश्नको जवाफ दिन तथा जिम्मेवारी लिनबाट भागिरहेको छ।”
उनले प्रदेश सरकारलाई निरीह र गैरजिम्मेवार भएको आरोप लगाउँदै संसद बैठक, समितिका बैठकलगायत सबै गतिविधि अस्तव्यस्त भएको बताए। “हिउँदे अधिवेशन सुरु गर्ने कुनै सुरसार छैन, प्रदेश सरकार सुतेको अवस्थामा छ,” उनले भने।
नेता भट्टले मुख्यमन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्दा पनि मुख्यमन्त्री पदमै बसेको भन्दै आलोचना गरे। उनले प्रदेश सरकारको बजेट कार्यान्वयन अवस्था पनि अत्यन्तै निराशाजनक रहेको बताए।
भट्टका अनुसार प्रदेशको वन मन्त्रालय अत्यन्त विवादमा परेको छ। “मन्त्रालय काठ व्यवसायीले चलाइरहेका छन्,” उनले आरोप लगाए।
उनले वन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय माफियाले चलाउने हो कि सरकारले चलाउने हो भन्ने प्रश्न उठाउँदै सरकार कानुन निर्माणदेखि विकास निर्माणका काममा असफल भएको दाबी गरे।
संसद बैठक सञ्चालन नभएका कारण प्रतिपक्षलाई बाहिर बोल्नुपर्ने अवस्था आएको उनले बताए। “सरकार संवाद गर्ने मनस्थितिमा छैन। सरकारले प्रश्नबाट भाग्ने गतिविधि गरेको छ,” उनले भने।
भ्रष्टाचार र कमिसन मागिएको घटनाबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ। उनले बर्खे अधिवेशनमा कुनै काम गर्न नसकेको सरकारले हिउँदे अधिवेशनसमेत नबोलाएको भन्दै सरकारको आलोचना गरेका छन्।