श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलामा जोखिमपूर्ण तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने अभियान सुरु गरेका छन्।
धरानमा श्रमदान र जनसहभागिताबाट खानेपानी आयोजना सफल बनाएपछि साम्पाङले सोही मोडललाई दार्चुलाको ब्याँस गाउँपालिका–४ डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा पनि लागू गर्न खोजेका हुन्।
स्थानीय बासिन्दाले वर्षौंदेखि तुइन प्रयोग गरेर जोखिमपूर्ण यात्रा गर्नुपरेको अवस्थालाई अन्त्य गर्न श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरिएको साम्पाङले बताएका छन्। उनले फेसबुक लाइभमार्फत अध्ययनका लागि श्रमदाताको टोली दार्चुला पठाइसकेको जानकारी दिएका छन्।
पुल निर्माण स्थल दुर्गम भएकाले त्यहाँ मोटरबाटो, विद्युत् र भारी मेसिनरी उपकरण प्रयोग गर्न नसकिने साम्पाङले बताएका छन्। त्यसैले श्रमदानमा सहभागीहरूले घन, मार्तोल, बेल्चा, गैँतीजस्ता साधन प्रयोग गरेर ढुङ्गा फुटाउनेदेखि बाटो खन्नेसम्मका काम हातैले गर्नुपर्नेछ।
साम्पाङका अनुसार पुल निर्माण सम्पन्न गर्न करिब १५ देखि २० दिन लाग्न सक्ने अनुमान गरिएको छ। श्रमदानमा सहभागीहरूले मकै, चिउरा, चाउचाउ, सातुजस्ता सुक्खा खानेकुरा आफैं बोकेर जानुपर्ने सुझाव समेत उनले दिएका छन्।
पुल निर्माणको सबैभन्दा चुनौतीपूर्ण काम भारी लट्ठा तान्ने प्रक्रिया हुने उल्लेख गर्दै उनले आवश्यक परे ३५–४० जनासम्मले काँधमा बोकेरै पुलका लट्ठा पुर्याउनुपर्ने अवस्था हुन सक्ने बताए।
यस अभियानलाई सफल बनाउन उनले सामाजिक सञ्जालमार्फत न्यूनतम १० रुपैयाँदेखि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।