नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबीच सहमति गरी एकीकरणको घोषणा गरिएको हो।
कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बी.पी.)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमति पत्रअनुसार नेपाली कांग्रेस (बी.पी.)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने जनाइएको छ।
जारी वक्तव्यमा परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्धता व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त निर्णय गरिएको उल्लेख छ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत अघि सारेको “बदलियो कांग्रेस, बदल्छौ देश” भन्ने संकल्पको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेस (बी.पी.)ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने बताइएको छ।
नेपाली कांग्रेस (बी.पी.) समाहित भएसँगै पार्टी थप सशक्त बनेको कांग्रेस नेताहरूले बताएका छन्।