प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनमा सबै मतदातालाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेकी छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले देश इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनपछिको जटिल र संवेदनशील अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको बताइन् । “विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,” उनले भनिन्, “यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम हो ।”
उनले मतदानलाई केवल चुनावी प्रक्रिया नभई नागरिकले आफ्नो तथा सन्तानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णयका रूपमा व्याख्या गरिन् । फागुन २१ गते अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन सबैको भूमिका आवश्यक रहेको बताइन् ।
प्रधानमन्त्रीले चुनावी प्रतिस्पर्धा स्वस्थ र सभ्य हुनुपर्नेमा जोड दिँदै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई संयमित प्रचारप्रसार गर्न आग्रह गरिन् । मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न पनि उनले आह्वान गरिन् । निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको निष्पक्षता र मिहिनेतप्रति धन्यवाद व्यक्त गर्दै सरकारले आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइन् ।
सामाजिक सञ्जालमार्फत फैलाइने तथ्यहीन तथा भ्रामक सामग्रीप्रति सचेत रहन आग्रह गर्दै प्रधानमन्त्रीले त्यस्ता गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइन् । दण्डहीनतालाई प्रश्रय नदिने सरकारको प्रतिबद्धता पनि उनले दोहोर्याइन् ।
सम्बोधनका क्रममा उनले होली (फागु पूर्णिमा) पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरिन् । होलीले एकता, सद्भाव र उत्साहको सन्देश दिने उल्लेख गर्दै कसैको इच्छाविपरीत रङ नलगाउन तथा संयमित रूपमा पर्व मनाउन आग्रह गरिन् ।
त्यसैगरी, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार चिन्तित रहेको जनाउँदै उनले इरान र आसपासका घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताइन् । त्यहाँ रहेका नेपालीहरूको सुरक्षाका लागि सबै नियोग सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाललाई मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै अब देशको बागडोर जनताले चुन्ने प्रतिनिधिहरूको हातमा जाने बताइन् । उनले होलीको उत्साह र निर्वाचनको जिम्मेवारीलाई सँगसँगै अघि बढाउँदै फागुन २१ गतेको निर्वाचनलाई ऐतिहासिक बनाउन सबैलाई आह्वान गरिन् ।