नेकपा (एमाले)का कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले आफू निर्वाचनमा जितको निकै नजिक पुगेको दाबी गरेका छन्।
प्रेस चौतारी नेपालद्वारा आयोजित “प्रेस चौतारीसँग उम्मेदवार” कार्यक्रममा बोल्दै उनले पार्टी संगठन, कार्यकर्ता र आम मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको बताएका हुन्।
ढुङ्गानाले आफू युवा उम्मेदवारका रूपमा अघि सारिएको उल्लेख गर्दै यसले ऊर्जा, नवीन सोच र परिणाममुखी कार्यशैलीको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे। घरदैलो अभियानका क्रममा नागरिकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनको भनाइ छ।
“जनतालाई भ्रममा राखेर मत माग्ने मेरो उद्देश्य होइन,” उनले भने, “कार्यान्वयन गर्न सकिने योजना र स्पष्ट प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएको छु।” विकासका नाममा असम्भव आश्वासन दिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
उनले सहिद दशरथचन्द विश्वविद्यालयमा स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। सुदूरपश्चिममै गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार भए स्थानीय विद्यार्थीलाई अवसर मिल्ने र क्षेत्रको स्वास्थ्य सेवा प्रणाली सुदृढ हुने उनले बताए।
ढुङ्गानाले सडक, खानेपानी, रोजगारी र गुणस्तरीय शिक्षा जस्ता आधारभूत विषयमा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरे। जनताले अब नारा होइन, सुशासन र पारदर्शिता खोजिरहेको उनको भनाइ छ।
“जुन दिन म अनियमिततामा संलग्न हुन्छु, त्यही दिन राजीनामा दिन तयार छु,” उनले प्रतिबद्धता जनाए।
चुनावी प्रतिस्पर्धामा आफ्नो मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग रहेको बताउँदै उनले भ्रम र हल्लाको भरमा मतदाता प्रभावित गर्ने प्रयास भइरहेको आरोप लगाए। पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पार्दै उनले त्यस्तो प्रचार विपक्षीले फैलाएको हल्ला मात्र भएको बताए।