नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा कैलाली–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण तर अधुरा विकास आयोजनालाई पूर्णता दिन आफूले उम्मेदवारी दिएको बताएका छन्।
बिहीबार अत्तरियामा प्रेस चौतारीले आयोजना गरेको उम्मेदवार कार्यक्रममा बोल्दै भट्टले आफ्नो उम्मेदवारी कैलाली मात्र नभई समग्र सुदूरपश्चिम र राष्ट्रकै हितसँग जोडिएको उल्लेख गरे।
उनले दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक तथा लालपुर–हरैया विशेष आर्थिक क्षेत्र निर्माणजस्ता आयोजना अघि बढाउन आफू सक्षम रहेको दाबी गरे।
विगतमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भई मन्त्री हुँदा ती योजनाको आधार तयार गरेको उल्लेख गर्दै उनले अब कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताए।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताउँदै भट्टले अन्य उम्मेदवारलाई पनि कमजोर ठान्न नहुने धारणा राखे।
लोकतन्त्रमा सबै प्रतिस्पर्धी सम्मानका पात्र हुने उल्लेख गर्दै विकासका मुद्दामा मतदाताले सही निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।
एमालेले गरेका काम र उपलब्धि जनतामाझ पुर्याउन घरदैलो अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले प्रदेश राजधानी गोदावरीमा सार्ने निर्णय दुईतिहाइ प्रदेशसभाबाट पारित भइसकेको र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे।