आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोरखबहादुर बिष्ट ‘आनन्द’ले गोदावरी नगरपालिकाभित्र प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
पछिल्ला केही दिनयता उनले आफ्नो चुनावी कार्यक्रम र घरदैलो भेटघाटलाई विशेष रूपमा गोदावरी क्षेत्रमा केन्द्रित गरेका छन्।
गोदावरी कांग्रेसको रणनीतिक रूपमा बलियो नगर मानिन्छ। यहाँ कांग्रेसका पुराना नेता दीर्घराज भाटदेखि वर्तमान मेयर वीरेन्द्र भट्टसम्मको गृहनगर हो। साथै गोदावरी नगरपालिका वडा नम्बर १० र १२ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले दुई पटक जित हासिल गरेका वडा हुन्।
यसैबीच गोदावरी–३ का स्थानीय छत्र भट्ट पनि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका छन्। उनको चुनाव चिन्ह ‘आँप’ हो।
भट्ट पनि यतिबेला प्रचारप्रसारमा सक्रिय छन्। उनको उम्मेदवारी भने कांग्रेसका लागि टाउको दुखाइ बनेको चर्चा छ, किनकि कांग्रेस निकट व्यक्तिहरू नै भट्टको कोर टिम र प्रचारप्रसारमा देखिएको बताइन्छ।
यद्यपि भट्टसँग विगतमा एमाले र माओवादीसँग जोडिएका केही युवाहरू पनि आबद्ध भएका छन्।
छत्र भट्ट यसअघि खासै सक्रिय राजनीतिक पात्रका रूपमा परिचित थिएनन्। उनी अधिकांश समय भारत बस्ने र बेला–बेला नेपाल आउने गरेका व्यक्ति हुन्।
चुनावी प्रचारका क्रममा उनले विभिन्न सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन्।